स्पेस एक्सले अन्तरिक्षमा यान पठाउनका लागि एक पल्ट प्रयोग गरिसकेको रकेट र क्याप्सुल फेरि प्रयोग गरेर अन्तरिक्ष यातायातको खर्च उल्लेखनीय रूपमा घट्ने संकेत गरेको छ ।
स्पेस एक्स अमेरिकी निजी व्यापारिक कम्पनी स्पेस एक्स्प्लोरेसन टेक्नोलोजिज कर्पको व्यापारिक नाम हो । यसले अन्तरिक्ष यान तथा अन्तरिक्ष यातायातका लागि सामान बनाउने र सेवा दिने काम गर्छ । अन्तरिक्ष यातायातको खर्च घटाउने र मंगलग्रहमा उपनिवेश बनाउने उद्देश्यले सन् २००२ मा यसको स्थापना भएको थियो । यो मेसोमा कम्पनीले फाल्कोन नामका रकेटहरू र ड्रागन नामका यानहरू विकसित गरेको छ । यी यानहरूले पृथ्वीको वरिपरि घुमिरहेका अन्तरिक्ष यानहरूमा सामान पुर्याउने र फर्काउने काम गरिरहेका छन् ।
यो मेसोमा कम्पनीले डिसेम्बर 15, 2017 को दिनमा एक पटक प्रयोग गरिसकेका रकेट र यानका सामानको पुनः प्रयोग गरेर एउटा ठूलो, महत्वपूर्ण काम गरेको छ । त्यसले 2015 को अप्रिलमा प्रयोग गरेको ड्रागन यान र जुन 2017 मा प्रयोग गरेको फाल्कोन रकेटको सामान पुनः प्रयोग गरेको छ ।
“शीघ्र र भरपर्दो पुनःप्रयोगको यो प्रारम्भ हो,” स्पेस एक्सका ड्रागन मिसनकी व्यवस्थापिका जेसिका जेनसेन भन्छिन् । “भविष्यमा अन्तरिक्षमा पहुँचको लागत घटाउन पुनःप्रयोग उल्लेखनीय उपाय बन्दै छ । भविष्यको पुस्तालार्इ अन्तरिक्ष अनुसन्धानमा पठाउन यो अवश्यक छ । हामी दस जनालार्इ अन्तरिक्षमा पठाउने हैन, हजारौँ मानिसलार्इ पठाउन सक्ने बन्न चाहन्छौँ ।”
स्पेस एक्सले पृथ्वी बाहिर स्थापित अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा धेरै पटक सामान ओसारपसार गरिसकेको छ । पछिल्लो पटक यसले उक्त केन्द्रमा रहेका वैज्ञानिकहरूलार्इ चाहिने 2200 किलो रासनपानी र अनुसन्धानका सामान पुर्याएको थियो ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन विशाल अन्तरिक्ष यान हो । यो यान पृथ्वीभन्दा २२० माइल पृथ्वीको वरिपरि घुमिरहेको छ । यो अन्तरिक्ष प्रयोगशाला हो । यहाँ अन्तरिक्ष वैज्ञानिक/यात्रीहरू बस्छन् ।
यो स्टेसन बनाउने काममा विभिन्न देशको योगदान छ । यसमा धेरै देशका मानिसहरूले काम गरिरहेका छन् । यो स्टेसन धेरै खण्ड अथवा मोडुलहरू मिलेर बनेको छ । पहिलो माडुलमा स्टेसनलाई सक्रिय पार्नका लागि चाहिने उपकरणहरू छन् । अन्तरिक्ष यात्रीहरू अन्य मोडुलहरूमा बस्छन् । मोडुलहरू जोडने भागलाई नोड भनिन्छ । स्टेसनको एकातिर सूर्यबाट बिजुली निकाल्ने प्यानल र उपकरणहरू छन् ।
स्टेसनमा यान जोडने डकिङ पोर्टहरू यानको ढोकाको रूपमा छन् । यात्रु र समानहरू यिनै पोर्टबाट ल्याउने लैजाने गरिन्छ ।
यो स्टेसन बनाउ सन् 1998 मा सुरु भएको थियो । अन्तरिक्ष यात्रीहरूले स्टेसनका सबै खण्ड अन्तरिक्षमा बसेर जोडेका थिए । दुई वर्षमा यो स्टेसन मानिस बस्नको लागि तयार भएको थियो । सन् २००० को नवम्बरदेखि मानिसहरू स्टेसनमा बस्न थालेका थिए । बीचबीचमा स्टेसनमा खण्डहरू थपिँदै गएर २०११ मा स्टेसन बनाउने काम पूरा भयो ।
यो स्टेसन झन्डै फुटबल मैदान जत्रो छ । यसमा पाँच वटा बेडरुम, दुइटा बाथरुम र एउटा जिम्नाजियम छन् । यहाँ एक पटकमा छ जना मानिस बस्न सक्छन् । यसमा अमेरिका, रुस, जापान र युरोपबाट ल्याइएका विज्ञान प्रयोगशालाहरू छन् ।
त्यहाँ गरिने अनुसन्धान पृथ्वीमा गर्न सकिँदैन । त्यहाँबाट देखिने ग्रह र ताराहरू पृथ्वीबाट देखिनेभन्दा फरक हुन्छ । अन्तरिक्षमा बस्दा मानिसको शरीर र स्वास्थ्यमा पर्ने असर, त्यहाँ गर्न सकिने खेतीपाती इत्यादिका बारे त्यहीँ नै वैज्ञानिकहरूले अध्ययन गर्छन् ।
यसबाट पाइएको ज्ञान र अनुभवलाई भविष्यमा मानिसलाई अन्तरिक्षमा अझै पर पुर्याउन र अरू ग्रह, उपग्रहमा मानव बस्ती बसाल्न उपयोग हुने छ । अन्तरिक्ष र अरू ग्रहमा स्थायी बस्ती बनाउने यो पहिलो प्रयास हो । एक प्रकारले यो अन्य ग्रहलाई उपनिवेश बनाउने अभ्यास हो ।
भविष्यमा विभिन्न कारणले गर्दा जब पृथ्वी मानिस बस्न अयोग्य हुन्छ तब मानिसको लागि नयाँ बस्ती वा ग्रहमा बसाइ सर्नु पर्ने हुन्छ । यो कामको सुरूवात अहिलेदेखि हुन थालेको छ । खगोल वैज्ञानिकहरू शनिग्रहको उपग्रह टाइटन र अन्य उपग्रहमा पनि यान पठाएर अनुसन्धान गर्दैछन् । यससन्दर्भमा अन्तरिक्ष यातायातका साधन र क्षमतामा सुधार र खर्चमा कमी निश्चय नै स्वागतयोग्य कुरा हो ।
प्रस्तुतकर्ताः विनय कसजू, स्रोतः विभिन्न वेबसाइट । मिति डिसेम्बर 15, 2017 स्थानः ड्यालस, टेक्सास, सं.रा. अमेरिका ।