अक्षरमै आधा शतक
विवश वस्ती बिहिवार, जेठ १८, २०७४
४ चैत ०३६ मा तानसेनबाट विनयकुमार कसजूले काठमाडौंबाट प्रकाशित हुने जल्दोबल्दो ‘समीक्षा’ साप्ताहिकमा एउटा समाचार पठाए । लेखिएको थियो, ‘वर्तमान थापा सरकारले जनमतसंग्रह कत्तिको निष्पक्ष गराउने रहेछ भन्ने कुराको अड्कल लगाउन अब गाह्रो छैन । किनभने, हालै पाल्पा जिल्ला पञ्चायत विघटन गरी कट्टर निर्दलवादीहरूको समिति बनाएर सरकारले आफ्नो नांगो रूप देखाइसकेको छ ।’ कसजूको एउटा बानी नै थियो, कार्बन बिछ्याएर समाचार लेख्थे र सक्कल प्रतिचाहिँ सम्प्रेषण गर्थे ।
करिब ३८ वर्षअघि लेखेका समाचारहरूको कार्बन–प्रति अहिले पनि उनीसँग सुरक्षित नै छन् । आफूले लेखेका समाचारका कार्बन–प्रति मात्र होइन
, ०४५ सालमा राजनीतिज्ञ खड्गमान सिंहलाई लेखेका पत्र, गोरखापत्रमा पारिश्रमिक पाउन लेखिएको निवेदनको नक्कल प्रति त अझै सुरक्षित छ नै, २० को दशकमा फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्दाताका प्रयोग गर्ने सुटकेस पनि उनले सजाएरै राखेका छन् । भन्छन्, ‘स्कुल पढ्दाताकाको ऐना पनि मसँग थियो । तर, पोहोर साल फुट्यो ।’
समाचार, चिठीपत्र मात्र होइन, दाजु प्रयागकुमारले प्रयोग गर्ने ०२७ साले विद्युतीय दा
ह्री काट्ने मेसिन र आफैंले ०२५ सालमा किनेका टाइपराइटर पनि अझै छन्, उनीसँग । मेसिनले त अझै पनि दाह्री काट्न मिल्छ । भन्छन्, ‘कतिपय कागजपत्र सुरक्षित राख्न नसकिएको हुँदा मदन पुरस्कार पुस्तकालयलाई दिएँ ।’मानवअधिकार, सूचना अधिकार, राजनीति, पत्रकारिता, साहित्य लेखनजस्ता विभिन्न भँगालाहरूमा उनको जीवन–यात्राको प्रवाह गतिशील रहे पनि मूलतः सञ्चार क्षेत्रलाई नै जीवनको मियो बनाएर अघि बढे, कसजू ।
र त, भर्खरै मात्र पत्रकारितामा आधा शतक पूरा गरेको लामो अनुभव सँगालेका छन्, उनले । ०२३ सालमा भैरहवाबाट निस्किने दैनिक ‘निर्णय’ मा गुल्मीको रिडीबाट स्थानीय संवाददाता भएर प्रारम्भ गरेको यात्रा निकै उकाली–ओराली छिचोल्दै आजपर्यन्त जारी छ । सम्झिन्छन्, ‘एक पटक भैरहवाबाट शक्ति लम्साल रिडी घुम्न आउनुभएको थियो । उहाँले नै त्यो पत्रिकामा समाचार पठाउन आग्रह गर्नुभएपछि मैले पठाउन थालेँ ।’ त्यतिबेला प्राप्त दैनिक ‘निर्णय’ को संवाददाताको परिचय पत्र उनले सुरक्षित राखेका छन् अझै ।
संवाददाता भएपछि उनले दुई वटा समाचार पठाए– एउटा, ‘स्थानीय खेतीपाती’ र अर्को पाल्पाको भैरवस्थानका एक शिक्षकले छात्रमाथि दुव्र्यवहार गरेको समाचार । भन्छन्, ‘अरू बेला त्यो पत्रिका छाप्नलाई आधा रिम कागज पर्याप्त हुन्थ्यो । तर, मैले समाचार पठाएपछि पत्रिकाको माग बढेको हुँदा बढी छापिएको थाहा पाएँ । र, मानिसले कस्तो समाचार पढ्न रुचि राख्छन् भन्ने कुरा मैले त्यसपछि थाहा पाएँ ।’कसजूका पुर्खा मल्लकालीन समयमै भक्तपुरबाट पाल्पा गएर बसे । भक्तपुर दरबारमा एउटा घटना भएपछि तत्कालीन शासकको प्रताडना भोग्नुपर्ने त्रासले विस्थापित भएका उनको पुर्खाले पश्चिम नेपालको सुन्दर र रमणीय एउटा पहाडी भूभागलाई रोजे ।
७० वर्षअघि तानसेनमा जन्मिए पनि कसजूको बाल्य र किशोरकालीन समय भने रिडीमा नै बित्यो। रिडीमा बुवाको कपडा पसल रहेको हुँदा उनी त्यतै हुर्किए र पढे पनि त्यहीँ नै।
तर, भक्तपुरका कसजूले आफ्नो थर लुकाए र लेख्न थाले, ‘श्रेष्ठ’ । कसजू लेख्न थालेको त उनको पुस्तादेखि मात्रै हो । त्यही बेला भक्तपुरबाट विस्थापित भएर दार्जिलिङ र सिक्किमतिर गएका कसजूहरूले भने थर लुकाएर प्रधान लेख्न थाले । पाल्पा गएपछि भने उनका पुर्खाले व्यापारलाई नै रोजे र वस्तु विनिमयको त्यो जमानामा अन्नसँग नुन, कपडा साट्नेजस्ता व्यापार गर्न थाले । ७० वर्षअघि तानसेनमा जन्मिए पनि कसजूको बाल्य र किशोरकालीन समय भने रिडीमा नै बित्यो । रिडीमा बुवाको कपडा पसल रहेको हुँदा उनी त्यतै हुर्किए र पढे पनि त्यहीँ नै । तर, एसएलसी भने काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्श माविबाट गरे, ०२० सालमा ।
त्यसबेला केही सम्पन्न परिवारले आफ्ना छोरालाई दार्जिलिङ र नैनीतालमा पढ्न पठाउँथे । रिडीमा ८ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसैले उनलाई काठमाडौं पढ्न पठाइएको थियो । रिडीमा ८ कक्षासम्म अध्ययन गर्दा भने उनको संगत जोगी–सन्न्यासीहरूसँग भयो । कालीगण्डकी र रिडीको संगमस्थलमा ठूल्ठूला मेला लाग्ने र ऋषिकेषको मन्दिरका साथै मुक्तिनाथको दर्शन गर्न त्यही बाटो आउने साधुहरूसँगै उनले उठबस गरे । भन्छन्, ‘जोगीहरूको संगतले गर्दा मैले १२ वर्षसम्म माछा, मासु नै खाइनँ ।
एक वर्ष त हरेक शनिबार मौन ब्रत बसेँ । मलाई मानिसहरूले यो जोगी हुन्छ भन्थे ।’त्यतिबेलासम्म उनी ‘बद्रीकुमार’ नै थिए । तर, फर्पिङमा आएर पढ्न थालेपछि भने सो हाइस्कुलका प्रिन्सिपल धरणीधर कोइराला र पछि शिक्षक भएर आएका फणिन्द्रराज खेतालाको सान्निध्यले उनलाई लठ्ठै तुल्यायो । लेखनतिर आकर्षित हुने वातावरण पनि बन्यो । त्यही बेला, उनले रवीन्द्रनाथ टैगोरको उपन्यास ‘गोरा’ पढे । त्यो उपन्यासमा एक जना पात्र थिए, विनय । उनलाई त्यो नाम खुबै मन प¥यो । एक दिन, धरणीधरसँग मुखै फोरेर भने, ‘सर, म आफ्नो नाम फेरेर विनय राख्न चाहन्छु ।’ धरणीधरले ‘किन नाम फेर्ने ?’ भनी प्रश्न गरे । उनले ‘गोरा’को पात्रको नाम आफूलाई मन परेको बताए ।
दशैंको बिदाका बेला २०/२५ जनाजति विद्यार्थीसामु कोइरालाले भने, ‘आजदेखि बद्रीको नाम विनय भयो, त्यही नामबाट बोलाउनू ।’ कसजू भन्छन्, ‘रिडीमा पनि बद्री नाम गरेका दुई जना थिए, त्यही भएर पनि मलाई नाम फेर्न मन लागेको थियो ।’खेतालासँग त उनको साहित्यिक संगत निकै नै बढ्यो । हरेक दिन केही न केही लेख्थे उनी र खेतालालाई देखाउँथे । खेतालाले पनि कुनै गाह्रो नमानी उनले लेखेको हेर्थे र सुझाव दिन्थे । एसएलसी उत्तीर्ण गरेपछि भने उनले उच्च अध्ययनका लागि विज्ञान विषय रोजे र बनारस गएर पढ्न थाले । भन्छन्, ‘मेरो साइन्सको पढाइ राम्रो हुन सकेन ।’ बनारसमा अध्ययन गर्दै गर्दा उनको साधुहरूसँग संगत भयो ।
साधुहरूसँगको संगतमा व्याप्त विकृति देखेपछि भने उनको मन नै भरंग भयो र त्यसपछि राहुल सांस्कृत्यायनको ‘कम्युनिजम ही क्यूँ ?’ अध्ययन गर्न थाले । भन्छन्, ‘धर्ममा देखिएको विसंगतिले मलाई वाक्कै बनायो र माक्र्सवादको अध्ययनतिर लागेँ ।’ त्यही समय, कमलापति त्रिपाठीको पत्रकारितासम्बन्धी एउटा पुस्तक ‘पत्र और पत्रकार’ पढेपछि त उनमा समाजलाई बदल्ने औजार पत्रकारिता रहेछ भन्ने लाग्यो र हुलाकबाट चिठीपत्रकै माध्यमद्वारा पत्रकारितासम्बन्धी कोर्स पूरा गरे ।
राजनीतिमा उनको आबद्धता भने अचम्मले भयो । ०२४ सालमा बनारसबाट नेपाल फर्किएपछि रिडी गाउँ पञ्चायतका प्रधानपञ्चले राजीनामा दिएपछि प्रधानपञ्चका लागि चुनाव हुने भयो । उनलाई सबैले उठ्न जोड गरे र २१ वर्ष उमेर नहुँदै प्रधानपञ्च भए । तर, प्रधानपञ्चको अवधि सकिएको केही समयपछि भने तत्कालीन राजा महेन्द्र, रानीसँगै हेलिकप्टरबाट रिडी घुम्न आए । उनले राजा महेन्द्रलाई ‘ब्रिफिङ’ गरे । भन्छन्, ‘राजा गएपछि त स्थानीय बासिन्दाले हेलिकप्टर बसेको ठाउँको माटो टिपेर खल्तीमा हाले ।’
रिडीमै छँदा ‘संकलन–१’ को सम्पादन गरिसकेका कसजूले ०२७ सालपछि आफ्नो ‘स्थायी ठेगाना’ तानसेनलाई बनाएपछि पत्रकारितामा नौलो गोरेटो खन्ने निधो गरे । तानसेनमा अवस्थित किराना पसललाई बदलेर उनले पुस्तक पसल खोले । र, स्थानीय साथी बटुलेर सामयिक संकलनका रूपमा ‘श्रीनगर’ निकाल्न थाले । ‘श्रीनगर’को केही अंक बनारस र गोरखपुरमा लगेर छापे पनि । पछि भने आफैँले प्रेस स्थापना गरेर छाप्न थाले । ०३० सालमा त उनले पाल्पामै प्रेस राखे । श्रीनगर, पाहुरजस्ता पत्रिकाहरू त्यही प्रेसमा छापिन थाले । भन्छन्, ‘पाहुर त नेपालको पहिलो रंगीन कभर भएको पत्रिका हो ।’ हुन पनि, गोरखपुर गएका बेला भारतीय हिरो–हिरोइनका रंगीन क्यालेन्डर ल्याउँथे र त्यसलाई पत्रिकाको कभर बनाउँथे ।
२०३६ सालताका भने उनलाई राजनीतिले नराम्ररी लठ्यायो । जनमतसंग्रहको घोषणा भएपछि आफ्नै अध्यक्षतामा जनपक्षीय बहुदल प्रचार समिति नै खोले । भन्छन्, ‘पाल्पामा पहिलो आमसभा नै हामीले गरेका थियौँ ।’ आखिर, पाल्पामा बहुदलले नै जित्यो । त्यतिबेलै पाल्पा पुगेका कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासमक्ष कांग्रेसीहरूले समेत पाल्पामा बहुदल पक्षले जित्नुमा स्थानीय कम्युनिस्ट पार्टीेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वीकारेका थिए । तत्कालीन सोभियत संघबाट निस्किन्थ्यो, ‘प्राभ्दा’ अर्थात् सत्य । त्यसैबाट प्रेरित भएर ०४० सालदेखि कसजूले ‘सत्य’ साप्ताहिक निकाल्न थाले । प्रमुख जिल्ला अधिकारीले पत्रिका दर्ता गर्न नमानेपछि कमलराज रेग्मीको सहयोगमा दर्ता गरिएको थियो ।
‘सत्य’मा छापिएका समाचार र तीजसम्बन्धी गीतलाई लिएर उनले एक पटक पाल्पा र तौलिहवा जेल तथा एक पटक प्रहरी हिरासतमा तीन सातासम्म बिताउनुपर्यो । ‘सत्य’ निकाल्दाखेरी नै एक पटक काठमाडौंमा भएको पत्रकारितासम्बन्धी एउटा गोष्ठीमा भाग लिन आउँदा उनको वरिष्ठ पत्रकार भारतदत्त कोइरालासँग भेट भयो । त्यही भेटले अन्ततः उनलाई ग्रामीण पत्रकारिताको ‘गुरु’ बन्न सघायो ।
मानवअधिकार, सूचना अधिकार, राजनीति, पत्रकारिता, साहित्य लेखनजस्ता विभिन्न भँगालाहरूमा उनको जीवन–यात्राको प्रवाह गतिशील रहे पनि मूलतः सञ्चार क्षेत्रलाई नै जीवनको मियो बनाएर अघि बढे, कसजू।
०५१ सालदेखि प्रकाशित गाउँले ‘देउराली’ पत्रिका अहिले पनि निरन्तर छ र नेपालको ग्रामीण पत्रकारिताको डोब खन्नमा त्यो पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको ठान्न सकिन्छ । २०३२ सालमा बागलुङकी गंगादेवी राजभण्डारीसँग प्रणयसूत्रमा आबद्ध भएका कसजूले बिहेको निम्तो कार्डलाई पनि सुरक्षित नै राखेका छन् । त्यसो त, उनी पुराना कुराहरूका संकलक मात्र होइनन्, विज्ञान–प्रविधि क्षेत्रमा आएका नयाँ–नयाँ परिवर्तनलाई पनि तत्काल पछ्याइहाल्न चाहन्छन् । च्याटमा कुराकानी गर्ने चलन बसिनसक्दै उनले त्यहीसम्बन्धी एउटा कथा नै लेखेका थिए ।
विज्ञान लेखनमा रुचि राख्ने कसजूले विज्ञानसम्बन्धी थुप्रै सामग्री लेखेका छन् । भन्छन्, ‘विज्ञान लेखनमा मलाई सानैदेखि रुचि थियो । विज्ञानको साइक्लोपेडिया निकाल्न चाहेको थिएँ तर पूरा हुन सकेन ।’ अचेल बालसाहित्य लेखनमा एकोहोरिएका उनका चार लघुकथाका कृति पनि निस्किएका छन् । उनी लघुकथा लेख्दा धार्मिक, पौराणिक पात्र र पशु पात्रहरूलाई उभ्याउँछन् र तिनीहरूमार्फत् नै कटाक्ष गर्न चाहन्छन् । एउटा कुरा भने उनी स्वीकार्छन्, ‘साहित्य लेखनमा विचारलाई प्राथमिकता दिँदा मलाई केही घाटा भने भएको छ ।
मेरो लेखनमा कलात्मक पक्ष केही कमजोर भएको महशुस गरेको छु ।’ बिहान ४ बजे नै उठिसक्ने कसजू अचेल बाल साहित्य लेखन र सम्पादनमै व्यस्त भेटिन्छन् । आधा घण्टा व्यायाम गरेपछि कम्प्युटरअघि घोटिने उनी दिनभरि नै काममा व्यस्त हुन्छन् । विकास र ग्रामीण पत्रकारितासम्बन्धी सन्दर्भ–सामग्रीहरू जुटाएका उनले त्यही विषयको पुस्तक लेख्ने तयारी गरिरहेका छन् । नेपाल प्रेस इन्स्टिच्युटमा रहेर पत्रकारिताको प्रशिक्षणमा दक्खल राखेका कसजूले एउटा कुरालाई भने कहिल्यै बिर्संदैनन् ।
राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्त हुने भएपछि स्नातक तह उत्तीर्ण गरेको उनको शैक्षिक प्रमाणपत्र मागियो । तर, सन् १९७५ मै स्नातक उत्तीर्ण गरे पनि उनले प्रमाणपत्र भने निकालेका थिएनन् । भन्छन्, ‘खासै आवश्यकता नपरेको हुँदा शैक्षिक प्रमाणपत्र निकाल्नतिर ध्यान दिइनँ । तर, नियुक्तिका लागि चाहिने भएपछि २००७ मा गएर निकालेँ ।’
०५३ सालमा पाल्पा छाडेका कसजू त्यसयता सपरिवार सानेपामा बस्दै आएका छन् । त्यही वर्ष पत्नी गंगाको उच्चस्तरीय भूमिसुधार आयोगको सदस्यमा नियुक्त भएपछि काठमाडौं आउनैपर्ने बाध्यता भएको हुँदा सपरिवार नै आउनुपर्यो । तर, ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बन्दा प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न आएको प्रस्तावलाई भने उनले ‘पाल्पा छाड्न नसक्ने’ जनाउ दिँदै अस्वीकार गरेका थिए । पाल्पासँग घनिष्टता रहेका कसजू अचेल भने कमै जान्छन्, आफ्नो गृह जिल्ला । भन्छन्, ‘खासै काम नै पर्दैन ।’
(अन्नपूर्ण टुडे साप्ताहिक म्यागजिनमा प्रकाशित ।)