असम्भव शब्दले हामी सबैलाई सरकसको हात्तीलाई जस्तै बाँधेर राखेको छ । हात्ती सानो छँदा उसलाई डोरीले बाँधेको हुन्छ । त्यो छावाले डोरी चुँडाल्न निक्कै प्रयास गर्छ । तर सक्तैन । मैले यो डोरी चुँडाल्न सक्तिन भन्ने कुरा उसको दिमागमा जरा गाडेर बस्छ । अनि ठूलो  भएपछि ऊ जत्तिसुकै बलियो भए पनि, धेरै मोटो डोरी चुँडाल्न सक्ने भए पनि उसले आफूलाई बाँधेको डोरी चुँडाल्ने कोसिस नै गर्दैन । यदि कसैले उसलाई ‘तिमीले यस्ता हजारौँ डोरी चुँडाल्न सक्छौ,’ भनेर उसको कानमा सुटुक्क भन्यो भने उसले आफूलाई बाँधेको डोरी चुँडाल्न एक छिन पनि लागाउने छैन ।

झुटा कुरामा आधारित विश्वासहरु बन्न धेरै समय लाग्छ तर त्यस्ता विश्वास तोडिन एक सेकेन्ड समय पनि लाग्दैन । साँचो कुरा अगाडि आएपछि झुटा कुरा र अन्धविश्वासहरु हराउँछन् ।

अहिलेसम्म मैले जेजति सेमिनार गरेँ ती सबैको फोकसमा युवा र केटाकेटीलाई राखेको छु । यसको कारण छ । यदि हामीले भविष्य बदल्नु छ भने हामीले केटोकेटीहरुलाई नै लक्षित गर्नु पर्छ । यो नै स्थायी समाधान हो । बच्चाहरुले चाँडै सिक्छन् ।

कल्पना गर्नुस् : एउटा ठूलो भित्ता छ । ठूलो मानिसको भित्ता । त्यसमा लाखौँ शब्द लेखिएका छन् । लेखिएका मात्रै होइन गहिरोसँग कुँदिएका छन् । ती भित्तामा नयाँ कुरा लेख्नु पर्यो भने पहिले त्यहाँ भएका अक्षरहरु मेट्न पर्छ । भित्तामा लेखिएको कुरा मेटेर नयाँ कुरा लेख्नु कुनै समस्या छैन तर समस्या त्यो भित्ताको मालिकमा छ । भित्ताको मालिकले त्यसमा केही पनि मेट्न दिँदैन, न त लेख्न नै दिन्छ । उसले भित्ता छुन पनि दिँदैन ।

आफ्नो सोच बदल्न तयार हुने मानिसहरु पाँच दस प्रतिशत मात्रै हुन्छन् । धेरै मानिसको मनमा बचपनमा जे धारणा बन्यो त्यो जीवन भरि बनिरहन्छ । त्यसलार्इ मेट्न वा बदल्न सकिन्न । “मेरो भित्तामा लेखेको कुरा सही छ । अरुको भित्तामा लेखेको कुरा मेट । पहिले उसको गर अनि मेरो गरौला । मेरो भित्तामा राम्रा कुरा लेखिएका छन् । अरुको भित्तामा खराब कुरा लेखिएका छन् ।” सबै यही भन्छन् । एउटाले अर्काको भित्ता देखाउँछन् । आफ्नो भित्तामा गल्ती देख्दैनन् ।

स्थायी समाधान यही हो : केटाकेटीको भित्तामा लेख्नु । किशोर र युवाको दिमागमा लेख्नु । तिनीहरुका भित्ता बिल्कुल सफा, खाली छन् । शुद्ध, पवित्र छन् । हामीले ती भित्ताहरुमा राम्राराम्रा अक्षर, शब्द, विचार कुँद्न पर्छ । बचपनमै राम्रोसँग हजारौँ शब्द लेख्नुपर्छ । राम्रा शब्दले भित्ता भरिदिनु पर्छ, ताकि कसैले त्यसमा खराब शब्द लेख्न नसकोस् ।

पाँच या दस वर्षपछि यी केटाकेटी र युवा समाजमा आएपछि समाज कस्तो होला ! समाज आवश्य बदलिन्छ ।

हरेक मानिसले अरुलाई वा संसारलाई बदल्नुको सट्टा आफैलाई बदल्न थालेपछि यो संसार अर्कै हुन्छ । यहीँबाट संसार र समाज बदल्ने काम सुरु हुनु पर्छ ।

 

दुईजना केटाकेटीको कथा

गाउँमा दुई जना केटाकेटी थिए । एक जना ६ वर्षको र अर्को १० वर्षको । दुबै जना खुबै मिल्थे । सँगै खेल्थे, सँगै खान्थे, सँगै घुम्थे ।

एक दिन उनीहरु घुम्दैघुम्दै गाउँदेखि पर पुगे र खेल्दाखेल्दै अचानक १० वर्षको केटो इनारभित्र खस्यो । ऊ रुन कराउन थाल्यो । अर्को केटोले मदत माग्न चारैतिर हेर्यो । कसैलाई पनि देखेन । उसले इनारबाट पानी तान्ने बाल्टिन देख्यो । त्यसमा डोरी बाँधिएको थियो ।

केटोले एक सेकेन्ड पनि ढिला नगरी त्यो बाल्टिन इनारभित्र खसाल्यो । उसको साथीले बाल्टिन समात्यो । बाहिर बसेको केटोले आफ्नो पूरा बल लगाएर इनारमा खसेको केटालाई तान्न थाल्यो । आखिरमा उसले साथीलाई बचाएरै छाड्यो ।

गाउँमा फर्केर उनीहरुले त्यो घटना सुनाए । तर कसैले पनि पत्याएन । पानी भरिएको बाल्टिन उचाल्न नसक्ने केटोले कसरी आफूभन्दा ठूलो साथीलाई इनारबाट तानेर बाहिर निकाल्न सक्छ ? तर गाउँमा एक जना मानिस थिए जसले यो कुरा पत्याए । गाउँलेहरु उनीकहाँ गएर सोधे ।

उनले भने, “त्यो बच्चाले यस्तो काम कसरी गर्यो होला भन्ने कुरा महत्वपूर्ण होइन । उसले त्यो काम किन गर्यो भन्ने कुरा महत्वपूर्ण हो । उसमा त्यो बल कहाँबाट आयो ?

यसको एउटा मात्रै जवाफ छ । त्यो बच्चाले जब यो काम गर्दै थियो त्यो बेला त्यहाँ, वरिपरि उसलाई ‘तिमीले यो कामगर्न सक्तैनौ,’ भनेर भन्ने मानिस कोही पनि थिएन । यहाँ सम्म कि ऊ आफै पनि थिएन । आफूले आफैलाई त्यस्तो भन्न सक्ने अवस्थामा थिएन ।

साभारः सन्दिप माहेश्वरीको युट्युब भिडियोबाट