(नागरिक दैनिकको जुनकिरी पृष्ठमा प्रकाशित 27 जनवरी 2018)
१. तपाईं बाल साहित्य किन लेख्नुहुन्छ ?
बालसाहित्य बालबालिकालाई समाज र संसार चिनाउने, उनीहरुलाई असल र योग्य मानिस बनाउने तथा अरुको सुख दुःख बुझ्न सक्ने बनाउने सबैभन्दा प्रभावकारी साधन भएकोले यिनै उद्देश्यलाई पूरा गर्ने प्रयास स्वरुप म बालसाहित्य लेख्छु ।
२. किताब लेख्नलाई तपाईंको प्रेरणा स्रोत के के हुन सक्छन् ?
सानो छँदा आमाबाट सुनेका पौराणिक कथाहरु, पढ्न जानेपछि पढेका र सुनेका रामायण, महाभारत र उपनिषदका कथाहरु, इसपका नीतिकथा, पंचतन्त्रका कथा, कक्षा नौ दसमा रवीन्द्रनाथ टैगोर, टल्सटाय, चेखोबका कथाहरु तथा युवावस्थामा लागेपछि हान्स क्रिस्चियन एन्डरसन, ओ हेनरी, मोपासाँ, प्रेमचन्द, अर्नेस्ट हेमिंग्वे, मेक्सिम गोर्की आदि विश्व प्रसिद्ध साहित्यकारका कृतिहरुबाट लेख्ने प्रेरणा पाएँ ।
३. तपाईंलाई कुनै किताब लेख्दा गाह्रो भयो कि ? अनि सजिलो लागेको किताब ?
गाह्रो र सजिलोको अर्थ धेरै मेहनत र कम मेहनत लगाउने हो भने बालकथा सम्पादन पुस्तक लेख्दा धेरै मेहनत गर्नु परेको थियो । त्यस्तै हान्स क्रिस्चियन एन्डरसन र उनका परीकथाहरु, स्विडेनको बालसाहित्य र अस्ट्रिड लिन्ग्रेनको योगदान, बालबालिकामा पुस्तक पढ्ने बानीको विकास जस्ता पुस्तक लेख्दा धेरै अध्ययन गर्नु पर्यो । साथै ज्ञान पनि बढ्यो ।
बनको दमकल, झ्यापुल्लेको बिजोग, बाघको सत्कार, कान्छाको मोटर जस्ता बालकथा लेख्दा सजिलो भयो ।
४. तपाईंको लेखन प्रक्रियाबारे बताइदिनुहोस् न ?
कुनै घटना देख्दा, समाचार सुन्दा, पढ्दा कथाको प्लट बन्न थाल्छ । सकेसम्म कागत वा मोबाइलफोनमा टिप्छु र अनुकूल समयमा लेख्छु । कुन बेला लेख्ने भन्ने कुनै समय तालिका छैन । मौका पाएको र मन लागेको बेलामा लेख्छु । सकेसम्म कम्प्युटरमा लेख्छु । कागतमा लेखे पनि सकेसम्म चाँडै कम्प्युटरमा सार्छु । लेखेका कथा कहिले तत्कालै सम्पादन गर्छु कहिले केही दिनपछि फेरि पढ्छु र सम्पादन गर्छु ।
५. तपाईंलाई मनपर्ने बाल साहित्य लेखक को हुन् ? तपाईंको सिर्जनामा गहिरो प्रभाव पार्ने किताब अथवा लेखक को हो ?
मन पर्ने लेखकः हान्स क्रिस्चियन एन्डरसन, अस्ट्रिड लिन्ग्रेन, एनिड ब्लाइटन, एड्गर एलन पो, रोआल्ड डाल, डाक्टर सुस, कृष्णप्रसाद पराजुली आदि ।
सिर्जनामा प्रभाव पार्नेः पंचतन्त्रका कथा, इसपका नीतिकथा, चिनका नीतिकथा, खलिल जिब्रानका कथा, ओ. हेनरीका कथा, लोककथा र दन्त्यकथाहरु आदि ।
६. बाल्यकालमा बाहिरी पुस्तक पढ्न पाउनुभयो ? बाल्यकालमा तपाईंका मनपर्ने पुस्तक कस्ता थिए ?
किशोरावस्थामा पढेका पुस्तक ः स्वस्थानी, महाभारत, रामायण, तोता मैना, लालहीरा, गीता, भोटको सवाई, दुर्गा सप्तसती, इसपका नीतिकथा, अकबर र बिरबलका कथा आदि ।
७. तपाईंलाई मनपर्ने आफ्नै कथा/किताब कुन हो ?
स्मार्ट टिन्स (किशोर कथा संग्रह)
८. तपाईं लेखक नभएको भए के बन्नुहुन्थ्यो होला ?
पुख्र्यौली पेशा व्यापार भएकोले व्यापारी बन्ने थिएँ हुँला ।
९. बाल साहित्यकार बन्न चाहने बालबालिकालाई तपाईंको सुझाव ?
मानिसले गर्ने धेरैजसो शारीरिक काम यन्त्र वा रोबोटले गर्न सक्छ । हिसाब गर्ने र तर्क गर्ने काम पनि यन्त्रले सही तरिकाले गर्न सक्छ । चिनमा ड्राइभर बिनाको कार चल्न थालिसकेको छ । भविष्यमा धेरै मानिसको काम रोबोटले खोस्ने निश्चित छ । तर सिर्जनशील काम गर्ने मानिसको काम खोस्ने सम्भावना हाललाई छैन । यसैले अबको शिक्षाको जोड बालबालिकालाई सिर्जनशील बनाउने काममा केन्द्रित हुनुपर्छ । कथा लेख्नु भनेको सिर्जनशील बन्ने प्रभावकारी तरिका हो । बालबालिकालाई साहित्य तर्फ लगायौँ भने उनीहरु भविष्यमा सिर्जनशील, वैज्ञानिक, प्राविधिक बन्न सक्छन् ।
साहित्य लेखनमा लाग्न चाहने बालबालिकाले दिनदिनैका घटना र अनुभव, फिलिङहरु लेख्नु सजिलो र प्रभावकारी उपाय हो ।
१०. पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अचेल म धेरै समय बालसाहित्य सम्पादनमा, केही समय बालसाहित्यको सैद्धान्तिक पक्षको अध्ययनमा र थोरै समय बालकथा सिर्जना र लेखन प्रशिक्षण सामग्री तयार पार्ने काममा लागेको छु ।
प्रस्तुतिः क्रन्ति पाण्डे