बालबालिकामा पढ्ने बानीको विकासमा बालसाहित्यको भूमिका

— विनय कुमार कसजू

“कुनै समाजको संस्कृति समाप्त पार्नु पर्यो भने त्यस समाजका किताबहरू जलाउनु पर्दैन, त्यस समाजका मानिसहरूको पढ्ने बानी समाप्त पारिदिए पुग्छ ।” — रे ब्राडबरी, उपन्यासकार, सन् १९९३

“किताबहरू मलाई बूढाबूढीहरू जस्तै गन्हाउँछन् ।”

न्युयोर्क सहरको एउटा बस्ती न्यु हेवनको एउटा विद्यालयका एक जना विद्यार्थीको भनाइ हो यो । न्युयोर्क टाइम्स पत्रिकामा काम गर्ने, धेरै विक्री हुने पुस्तक (बेस्ट सेलिङ बुक) ‘ग्रेट बुक्स’ का लेखक डेभिड डेन्बीले किशोरहरू किन गम्भीर र मौलिक साहित्य पढ्दैनन् भन्ने विषयमा एक शैक्षिक सत्रभरि विद्यालयहरूमा बसेर अध्ययन अनुसन्धान गरेर लेखेको पुस्तक ‘LIT UP One Reporter. Three Schools. Twenty-Four Books That Can Change Lives’ मा ती पन्ध्र वर्षे विद्यार्थीको भनाइ उद्धृत गरिएको छ ।

बोली, भाषा, अक्षर/लिपि, पुस्तक तथा मुद्रणको विकासबाट मानव सभ्यता आजको अवस्थामा आइपुगेको हो । छापाखानाको आविष्कार (सन् १४४०) भएपछि एकै चोटी हजारौँ पुस्तक उत्पादन गर्न सम्भव भयो । यसले गर्दा सूचना, ज्ञान र अनुभव बाँड्ने मानिसको क्षमता ह्वात्तै बढ्यो । फलस्वरूप विगत पाँच सय वर्षमा पुस्तक र पढ्ने बानी सभ्य समाजको अभिन्न हिस्सा बन्यो । यही पुस्तक र पढ्ने बानीले मानिसलाई आजको उन्नत अवस्थामा ल्याइपुर्याएको हो । यसैले नयाँ पुस्ताको पढाइमा अरूचि मानव सभ्यताकै लागि ठूलो नोक्सान हो । यसले शिक्षा, शिक्षण र ज्ञान प्राप्त गर्ने विधिमा दीर्घकालीन तथा नकारात्मक प्रभाव पार्नसक्छ ।

इसापूर्व २२१ — २०६ मा क्विन वंशको शासन सुरु भएको संक्रमणकालमा चिनमा विद्वान सन्त कन्फ्युसियसको दर्शनका मौलिक पुस्तकहरू ठूलो परिमाणमा जलाइएको थियो । त्यसपछि हानवंश सत्तामा आएपछि (इसापूर्व २०६ देखि इसवी सन् २२० बीच) ती जलाइएका पुस्तकहरूको पुनस्र्थापना गर्न व्यापक अभियान चलाइएको थियो । कन्फ्युसियसका पुस्तक पढेका र घोकेका बूढा विद्वानहरू ती पुस्तक पुनःप्राप्त गर्ने मुख्य स्रोत बनेका थिए । (स्रोतः https://www.britannica.com/biography/Mao-Chang#ref846671 )

विश्वको इतिहासमा आफूलाई मन नपर्ने विचार, धर्म, सिद्धान्त वा मान्यताका पुस्तकहरूलाई जलाउने काम विभिन्न धर्म र शासन सत्ताहरूले गरेको पाइन्छ । तर जुन समाजमा पढ्ने, अध्ययन गर्ने परम्परा बसेको छ त्यो समाजका बहुमूल्य, मौलिक ग्रन्थहरू आगोले जगाउँदैमा नष्ट हुँदैन भन्ने उदाहरण हो यो ।

साथै कुनै पनि शक्तिले आफ्नो विचार, धर्म वा सिद्धान्तको पक्षमा जतिसुकै लगानी गरेर पुस्तक लेखेका वा लेख्न लगाएका भए पनि त्यो समाजमा पढ्ने बानी छैन भने त्यस्ता पुस्तक दाराज सजाउन र चाकरी बजाउन बाहेक व्यवहारमा अर्थहीन हुन्छन् ।

आजको संचार युगमा नपढी कसैलाई सुख्खै छैन । यसैले पहिलेका मानिसहरूले भन्दा अहिलेका नयाँ पुस्ताले धेरै शब्दहरू पढिरहेका छन् । तर उनीहरूले कागतका पानामा हैन मोबाइलफोन, आइप्याड, ट्याब्लेट, ल्यापटप कम्प्युटर जस्ता डिजिटल उपकरणका स्क्रिनमा पढिरहेका छन् । उनीहरू साथीले पठाएका सन्देश, टेक्स्ट, सूचना÷जानकारीका टुक्राहरू पढिरहेका छन् ।

स्क्रिनमा देखिने सूचनाका संक्षिप्त, अधुरो, कामचलाउ टुक्राहरूको पढाइले उनीहरूको ज्ञान पूर्ण हुन सक्तैन । यो संसारलाई बुझ्ने, बुझाउने कुराहरू गम्भीरता साथ नपढेसम्म उनीहरूको पढाइ सार्थक हुन सक्तैन । उनीहरूले मौलिक साहित्यिक कृतिहरू पढ्न जान्नु पर्छ । उनीहरू मौलिक साहित्यिक, दार्शनिक तथा वैज्ञानिक ग्रन्थहरू पढ्न आकर्षित हुनुपर्छ । उनीहरूले यस्ता ग्रन्थ पढ्दा आनन्द लिन सक्नुपर्छ । तर उनीहरूलाई गम्भीर भएर पढ्न नदिने, उनीहरूको ध्यान सजिलैसँग भंग गर्ने र अनावश्यक दिशातिर उनीहरूको मन तान्ने धेरै कुरा आएका छन् ।

सहरमा जन्मेका बच्चाले आमाको काखमा बसेर ल्यापटप, आइप्याड, ट्याब्लेट र टेलिभिजन हेरिरहेका हुन्छन् । स्कुल जाने उमेरसम्म सहरका बच्चाहरूले एक हजार घन्टा भन्दा बढी समय टेलिभिजन हेरिसकेका हुन सक्छन् । कम्प्युटर र मोबाइल फोनबाट इन्टरनेट ब्राउज गर्ने, खेल खेल्ने, भिडियो र गेमहरू डाउनलोड गर्ने, साथीहरूसँग च्याट गर्ने, एसएमएस आदान प्रदान गर्ने इत्यादि काममा अहिलेका बालबालिका र किशोरहरूको धेरै समय बित्छ । यसले गर्दा उनीहरूको पुस्तक पढ्ने समय, रुचि र बानी समग्रमा घटिरहेको छ ।

संसारभरिकै बालबालिका र किशोरहरूमा पढ्ने बानी घटिरहेको छ । फुर्सतको समयमा पुस्तक पढ्नु भन्दा उनीहरु समाजमा वा साथीभाइसँग घुलमिल हुन र सामाजिक अन्तरक्रियामा समय बिताउन चाहन्छन् । किशोरहरूलाई सोसल मिडिया, टेलिभिजन, सिनेमा र गेमले अँठ्याएको छ । उनीहरू पुस्तकमा भन्दा इन्टरनेटमा उपलब्ध च्याट, इमेल ब्लग आदि सुविधा प्रयोग गर्न रमाउँछन् । संगीत, चलचित्र र खेलका भिडियोहरू सजिलै उपलब्ध छन् । पुस्तक पढनु भन्दा सुन्ने र हेर्ने कुरा सजिलो र रमाइलो पनि हुन्छ । उनीहरूले पढने कामलाई आनन्द दायक अनुभूति भन्दा पनि एउटा नियमित काम, कर्तव्य वा बोझको रूपमा लिन थालेका छन् । उनीहरू पढ्नमा गम्भीर छैनन् ।

अर्कोतिर बालबालिका तथा किशोरहरूलाई पढ्नबाट विचलित पार्ने वा पढ्न रुचि घटाउने एउटा बाधक तत्व कतिपय विद्यालयहरू स्वयं देखिएका छन् । सुन्दा अपत्यारिलो र नमिठो लाग्ने यो तीतो सत्य हो । विद्यालयलाई विद्यार्थीको शैक्षिक उत्कृष्टता (एकेडेमिक एक्सिलेन्स) सँग मतलब हुन्छ । परीक्षामा उत्कृष्ट अंक ल्याउनु नै विद्यार्थीको सर्वोत्तम गुण मानिन्छ । अधिकांश अभिभावक र समाजले पनि यही गुणलाई उत्तम गुण मानेको देखिन्छ ।

द वल्र्ड इन्साइक्लोपिडिया (१९९५) ले पठन (रिडिङ) लाई अक्षरहरू र अक्षरहरूको समूहलाई कुनै खास ध्वनि÷स्वर (साउन्ड) लाई चिन्ने क्षमता भनी परिभाषित गरेको छ । यो छापिएका वा लेखिएका शब्दहरूको अर्थ निकाल्ने कला हो । २१ औँ शताब्दीको आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक आदि सबै प्रकारका विश्व प्रणालीमा बाँच्नको लागि पठन अपरिहार्य योग्यता हो ।

पुस्तक पढ्ने बालबालिका कल्पनाशील र जिज्ञासु हुन्छन् । उनीहरूको सिक्ने क्षमता बढ्छ । समाज र संसारलाई हेर्ने दृष्टिकोण फराकिलो हुन्छ । विरानो ठाउँ र विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक तथा जातीय परिवेशका मानिसहरूलाई बुझ्न र उनीहरूसँग मिलेर काम गर्न यसले सघाउँछ ।

पुस्तक पढ्ने बानी नभएका बालबालिका असामाजिक व्यवहारमा लाग्ने संभावना बढी हुन्छ । उनीहरूमा साथीहरूलाई धम्क्याउने, कुटपिट गर्ने, दुःख दिने प्रवृत्ति पाइन्छ । नपढ्ने बच्चाहरू सबै यस्ता नकारात्म प्रवृत्तिका हुन्छन् भन्ने होइन, तर जो बच्चामा पुस्तक पढ्ने रुचि र बानी बसेको हुन्छ तिनीहरूको दिमाग सिर्जनशील हुन्छ, उनीहरूका नकारात्मक सोच र व्यवहारको सम्भावना कम हुन्छ ।

कक्षामा पाठ राम्ररी बुझ्न र सिक्नका लागि पुस्तक नपढी हुँदैन । पढ्ने बानी र क्षमता घट्यो भने पढाइको विषयगत उत्कृष्टता पनि घट्छ । सारमा, पढ्ने बानी मानिसलाई असल व्यक्ति बनाएर उसको जीवनलाई सफल बनाउनका लागि आवश्यक अत्यन्तै महत्वपूर्ण बानी हो । यो बानीले मानिसलाई एकातिर आनन्द दिन्छ भने अर्कोतिर ज्ञानको भण्डार भरिँदै जान्छ र जीवनलाई सफलतातिर डोर्याउँछ ।

विद्यालयले शैक्षिक उत्कृष्टतामा मात्र जोड दिनाले एकातिर बालबालिकाहरूले पाठ्य पुस्तकबाहेकका साहित्यिक पुस्तक पढ्ने कामलाई वाध्यता र बोझका रूपमा लिन्छन् भने अर्कोतिर शिक्षक तथा अभिभावकहरूले पाठ्यपुस्तक भन्दा बाहिरका पुस्तकहरू पढ्न निरुत्साहित गरिरहेका हुन्छन् ।

बालबालिकाको विकास शैक्षिक विकास (कग्निटिभ डेभ्लप्मेन्ट) ले मात्रै पूरा हुँदैन । उनीहरूको सामाजिक, भावनात्मक (इमोसनाल), बौद्धिक विकास पनि सँगसँगै हुनुपर्छ । उनीहरू असल, योग्य र प्रतिस्पर्धात्मक विश्वमा सफल हुनका लागि शैक्षिक विकास मात्र अपूरो हुन्छ । बालसाहित्यले मात्र उनीहरुको सबै प्रकारका विकासका आवश्यकतालाई पूरा गर्न सक्छ । बालबालिकाको सबै पक्षको विकासका लागि बालसाहित्य अपरिहार्य हुन्छ ।

यदि हाम्रा बालबालिकाले पढदैनन् भने हामीले हाम्रो कस्तो भविष्य र कस्तो सभ्यताको विकास गर्न लागेका छौँ भन्ने कुराको चिन्ता गर्नु पर्ने अवस्था आउँछ ।

यसैले नयाँ पुस्तालाई पठ्नतिर आकर्षित गर्नु उनीहरूमा पढ्ने बानी बसाल्ने काम शिक्षा, साहित्य र समग्रमा ज्ञानको हस्तान्तरणको क्षेत्रमा लागेका सबै सरोकारवालाहरूका लागि हाँक बन्दै गइरहेको छ । यसका लागि अभिभावक, शिक्षक, समाजदेखि राज्यसम्म विविध पक्षले जिम्मेवारी बहन गर्नु आवश्यक छ ।

कुनै पनि बानी वा व्यवहारको विकास गर्न वाल्यकाल नै उपयुक्त समय हुने भएकोले मानिसमा पढ्ने बानीको विकास बाल्यकालमै गर्नुपर्छ । बालबालिकालाई हुर्काउनु भनेको नै उनीहरूलाई शिक्षा र ज्ञान दिएर असल मानिस बनाउनु हो । यसको लागि उनीहरूलाई पढ्न सिकाउने काम पहिलो नम्बरमा पर्छ । कर वा वाध्यताले पढ्ने हैन, पढ्नका लागि रुचि जगाउने, पढ्ने शोख वा लत नै लगाउन सक्नु पर्छ । कुनै पनि आमाबाबुले आफ्ना सन्तानलाई दिनसक्ने र दिनु पर्ने अति महित्वपूर्ण बानी हो पढ्ने बानी । पढ्न रुचाउने बालबालिकाहरू जीवनभरि सिक्ने (लाइफलंग लर्नर) बन्छन् । साथै उनीहरूमा आत्मसम्मान, इमान्दारी, मेहनत, जिम्मेवारी, वचनवद्धता, निर्णय गर्ने क्षमता जस्ता मानवीय गुणहरू विकसित हुने सम्भावना बढ्छ ।

बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्ने मुख्य साँचो उनीहरूले रुचाउने, रमाउने बालसाहित्यको सिर्जना र उपलब्धता हो । पठन संस्कृतिको विकास गर्न बालसाहित्यको सर्वाधिक महत्वपूर्ण भूमिका हुन्छ । यसका लागि राम्रा बालपुस्तकको आवश्यकता पर्छ । उनीहरूले पढ्दा रमाउने, इन्ज्वाय गर्ने साथै उनीहरूलाई असल र आधुनिक विश्वलाई बुझ्न र व्यवहार गर्न सक्ने प्रतिस्पर्धी बनाउने खालको बालसाहित्य सिर्जना गर्नु अहिलेका बालसाहित्य स्रष्टाहरूसमक्ष हाँक हो । बालसाहित्यसँग प्रत्यक्ष सरोकार राख्ने लेखक, सम्पादक, अभिभावक, पुस्तकालय तथा शिक्षालयहरूको यसमा विशेष भूमिका हुन्छ ।

बालसाहित्य अर्ति उपदेशको युगबाट धेरै अगाडि बढिसकेको छ । मानेरंजको माध्यमबाट ज्ञान यसको उद्देश्य बनेको छ । बालबालिकाको हुर्काइले समाजदेखि विश्वको शान्ति र समृद्धिलाई प्रभाव पार्ने हुनाले बालसाहित्यको विकासमा विश्वकै ध्यान आकर्षित भएको छ । समाज, राष्ट्र र विश्वको विकास र विनाश दुबैमा बालसाहित्यले प्रभाव पार्न सक्छ ।

आश लाग्दो कुरा के छ भने मानिसहरूमा लाखौँ वर्षपहिले, ढुँगे युगको सिकारी अवस्थादेखि नै आफ्ना पुर्खा र आफन्तले गरेका बहादुरीका घटना कथाको रूपमा सुन्ने लत बसेको छ । कथा सुन्ने, पढ्ने जिज्ञासा उसको अहिले विकास भएको वा कृत्रिम गुण हैन । यो गुण मानिसमा अन्तर्निहित स्वाभाविक गुणको रूपमा विकास भएको छ । यसैले पढ्नुको आनन्द र पुस्तकप्रतिको आकर्षण उसको मौलिक गुण हो । विभिन्न कारणले गर्दा यो गुण दबिएको हुनसक्छ । तर हराएको छैन । यो गुण जगाउन सकिन्छ । यो गुण जगाउनु बालसाहित्य सर्जकहरूको अुभव, सीप र ज्ञानमा भर पर्छ ।

पुस्तक पढ्ने रुचि र बानी अचानक वा स्वतः सुरु हुँदैन । यसलाई हुर्काउनु र बढाउनु पर्छ । उनीहरूको पढ्ने क्षमता र रुचिलाई बढाउन बाहिरी सहयोग र अनुकूल वातावरण चाहिन्छ । यसका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण भूमिका आमाबाबु, अभिभावक र परिवारको हुन्छ । त्यसपछि विद्यालय, समाज र राज्यको भूमिका आउँछ ।

विभिन्न समाज तथा देशमा बालबालिकामा पढ्ने बानी बसाल्नका लागि आमाबाबु र परिवारलाई सघाउन विभिन्न कार्यक्रम संचालन गरिएका छन् । बेलायतको बुक स्टार्ट कार्यक्रमले त्यहाँ बच्चा जन्मने बित्तिकै आमाबाबुलाई पुस्तकको पोका उपहार दिन्छ र बच्चालाई कथाका पुस्तक पढेर तथा ठूलो स्वरले बालगीत गाएर सुनाउन प्रेरित गर्छ र तालिम पनि दिन्छ । त्यस्तै संयुक्त राज्य अमेरिका, जापान, सिंगापुर, दक्षिण कोरियामा पनि यस्ता कार्यक्रमहरू संचालन भइरहेका छन् ।

शिशुहरूलाई पुस्तकप्रति आकर्षित गर्ने महत्वपूर्ण कुरा चित्र हो । उनीहरू चहकिला रङ भएका ठूला चित्रहरू रुचाउँछन् । चित्र देखाउँदै कथा सुनाएको, गीत गाएको सुन्न उनीहरू रुचाउँछन् । चित्रपुस्तकहरूले साना नानीहरूको मन तुरुन्तै तान्छन् र उनीरुको पढ्ने र किताबलाई माया गर्ने बानीमा धेरै प्रभाव पार्छन् । चित्रपुस्तकहरूले शिशुहरूको कल्पना गर्ने र सोच्ने शक्तिलाई निक्कै बढाउँछ । यसैले उनीहरू अरू शैक्षिक पाठ्य सामग्री भन्दा चित्रपुस्तकलाई धेरै मनपराउँछन् । चहकिला रंगले सजिएका र हँसाउने खालका (कार्टुनजस्ता) फन्नी चित्रहरूले उनीहरूलाई अझै धेरै पुस्तक पढ्न प्रेरित गर्छन् ।

बालबालिकाहरूले शब्द भएका पुस्तक पढ्नुभन्दा पहिले चित्र पढ्न सिक्छन् । कमिक बुकहरूले उनीहरूलाई चित्रमा कथा भन्छन् । चित्र र शब्द भएका कमिक बुकहरूमा उनीहरूले पहिले चित्र हेर्छन् र चित्रबाट कथा बुझ्ने कोसिस गर्छन् । चित्र हेर्दा उनीहरूले भिडियो हेरेजस्तो र भिडियोबाट कथा बुझेजस्तो अनुभव गर्छन् ।

गुफामा बस्ने बेलादेखि मानिसहरूले सूचना दिनका लागि चित्रको प्रयोग गर्दै आएका छन् । प्राचिनकालका सभ्यताहरूमा माटाका ढिक्का (ट्याब्लेट) देखि सिसामा घटनालाई अंकित गर्ने र धार्मिक तथा लोककथाहरू कुँदने गरेको पाइन्छ । चित्रहरूले साना ठूला सबै उमेरकालाई पढ्न उक्साउँछन् । फोटोहरूले झैँ चित्रपुस्तकले हामीलाई सूचना र ज्ञान संचार गर्छन् । चित्रहरूले हाम्रा संवेदना, भावना (इमोसन) लाई छुन्छन् हाम्रा ज्ञानेन्द्रियहरूलाई हर्षित पार्छन् । हाम्रा कल्पनाहरूमा पखेटा लगाइदिन्छन् । ठूलालाई आफू केटाकेटी भएको अवस्थाको संसारमा पुर्याउँछन् । चित्रहरूले हामीलाई पुस्तक पढ्न निम्त्याउँछन् ।

बालबालिकाले पढ्ने पुस्तकहरूलाई यसरी पनि वर्गीकरण गरेको पाइन्छ ः बेबी बुक, टुड्लर बुक, अर्ली पिक्चर बुक, इजी रिडर, ट्रान्जिसन बुक, च्याप्टर बुक, मिडिल ग्रेड बुक, पूर्वकिशोर पुस्तक, किशोर पुस्तक आदि ।

फन्नी वा रमाइलो भएको कारणले नै चित्रकथाका पुस्तकहरू बालबालिकाले रुचाएका हुन भन्ने कुरामा शंका छैन । उनीहरूलाई पुस्तक पढ्न उक्साउने वा वाध्य पार्ने ड्राइभिङ फोर्स नै चित्र पुस्तकले उत्पन्न गराउने जिज्ञासा हो ।

पढ्ने कामलाई रमाइलो कुरा ठान्न थालेपछि बालबालिकाहरू पढ्नमा स्वतः प्रेरित (सेल्फ मोटिभेटेड) हुन्छन् र उनीहरू नयाँ कुरा पढ्न पाउँदा उत्साहित हुन्छन् । उमेर बढेसँगै उनीहरूको पढ्ने रुचि पनि फरक पर्दै जान्छ । यसबाट केटाकेटीलाई सानै उमेरमा सचित्र पुस्तकहरूमार्फत पढ्ने बानी बसाल्नु कति महत्वपूर्ण रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । पढ्नमा रुचि, नयाँ कुरा पत्ता लगाउने जिज्ञासा, र आजीवन पढैया बन्ने स्वभाव र क्षमताका लागि उनीहरूलाई सानैमा चित्रपुस्तकको माध्यमबाट गर्नुपर्छ ।

चित्रपुस्तकका अरू पनि विशेषता छन् । यसले केटाकेटीको बुझ्ने क्षमता (पर्सेप्सन) लाई तिखार्छ । उनीहरूको कल्पनाशीलतालाई झक्झक्याउँछ । निरीक्षण गर्ने क्षमता बढाउँछ । आफ्नो पहिचान र आफ्नो सांस्कृतिक सम्पदाप्रति चेतना बढाउँछ । पूर्वाग्रही विचार र अरूका संस्कृतिबारे भ्रम हटाउँछ ।

कमिक बुकहरूले बालबालिकालाई मात्रै हैन ठूलालाई पनि मनोरंजन दिन्छन् र कमिक पढदा पढदै अरू पुस्तक पढ्नतिर आकर्षित हुन्छन् । पढ्नु भनेको रमाइलो कुरा हो भन्ने कुरा मनमा गडेपछि बालबालिकाहरूमा पढ्ने बानी बसाल्न गाह्रो हुँदैन । यसैले पढ्नु रमाइलो काम हो भन्ने भावना बालबालिकालाई अनुभव गराउनु र उनीहरूको मस्तिष्कमा घुसाउन अत्यन्त जरुरी छ । यसका लागि कमिक बुक सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ ।

बालबालिकाको पढ्ने बानी बढाउन राम्रा चित्र भएका पुस्तकका साथै घरमा, विद्यालयमा र समुदाय÷समाजमा पुस्तक पढ्न प्रेरित गर्ने वातावरण पनि हुनुपर्छ । पढ्ने कामलाई विद्यालय र परीक्षासँग मात्रै जोडेर हेर्ने बानी छाड्नु पर्छ । यसलाई स्थानीय साहित्यिक गतिविधिहरूसँग पनि जोड्नु पर्छ ।

बालबालिकामा सानैदेखि पुस्तक पढ्ने बानी बसाल्न सक्यो भने यो उसको जीवन भरिको लागि सबैभन्दा उपयोगी बानी÷गुण हुन्छ । बालबालिकालाई पुस्तक पढ्ने बानी/रुचि बसाल्नु आमाबाबुले आफ्ना सन्तानलाई दिनुपर्ने सर्वोत्तम उपहार हो ।

धन्यवाद ।

२०७५ बैसाख ९ गते

साँचल, सानेपा, ललितपुर

डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयकाे वार्षिक प्रशाशन २०७५ मा प्रकाशित लेख । डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय र सामुदायिक बालविकास पुस्तकालय सानेपाले २०७५ वैसाख १० गते संंयुक्त रूपमा आयोजना गरेको बालबालिकामा पठन संस्कृतिको विकास विषयको गोष्ठीमा प्रस्तुत कार्यपत्रको सम्पादित लेख ।