बालकथा

विनय कसजू

होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले  तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए ।

रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका थिए । सडकमा होली खेल्ने केटाकेटीहरू मात्रै देखिन्थे । उनीहरू सुकिला लुगा लाएको मानिस आउला र रङले हमला गरौँला भनेर पर्खिरहेका थिए ।  .

यत्तिकैमा केटाकेटीहरूले एउटा गाई सडकमा आइरहेको देखे । त्यो गाईको जिउ निख्खुर सेतो थियो । गाई गोठतिर जाँदै थियो । गोठमा उसकी बाच्छी भोकै थिई । गाई जतिसकेको चाँडो गोठमा पुगेर बाच्छीलाई दूध खुवाउन चाहन्थी । यसैले ऊ हतार हतार गोठतिर जाँदै थिई ।

हातमा रङ भरेका पिचकारी लिएका केटाकेटीहरूले धेरै बेरसम्म बटुवालाई पिचकारीले रङ हान्न पाएका थिएनन् । एउटा उटुँग्याहा केटोले आफ्नो हातको पिचकारी सेती गाईतिर सोझ्यायो ।

“ए, गाईलाई नहान । पाप लाग्छ,” अर्को केटोले उसलाई रोक्न खोज्यो । तर त्यो केटोले पिचकारी चलाइहाल्यो । गाईको जिउमा निलो रङ पोतियो । त्यसपछि अरू केटाहरूले पनि पिचकारीले गाईलाई हान्न थाले । एकै छिनमा गाईको जिऊ विभिन्न रङले रंगियो ।

रंगिएको गाईलाई हेर्दै ‘हेर त इन्द्रेनी गाई !’ भन्दै उनीहरू रमाए । बिचारी सेती गाई आत्तिई । ऊ दगुर्दै गोठमा पुगी ।

गोठमा अरू गाई गोरु कुँडो खाइरहेका थिए । सेती गाई पनि कुँडो खान हतारिँदै गोठमा गई ।

“यस्तो अनौठो जन्तु कहाँबाट आयो ? हाम्रो कुँडो खान आएको होला । यहाँ नआ । भागिहाल,” भन्दै तिखे गोरुले उसको बाटो छेक्यो ।

अरू गाईले पनि कुँडो खान छाडेर अचम्म मान्दै सेती गाईतिर हेर्दै कराउन थाले, “ओहो, कस्तो इन्द्रेनी जस्तो जन्तु । कहाँ बाट आयो यो ? यसलाई हाम्रो कुँडो खान नदेऊ है ।”

“म यही गोठकी सेती गाई हुँ । मलाई चिनेनौ ? मेरी बाच्छी भोकाएकी छे । खै मलाई दूध ख्वाउन जान देऊ,” सेती गाईले भनी ।

उसको कुरा सुनेर अरू गाई हाँसे । तीखे गोरुले भन्यो, “कस्ती ढँटुवी रैछे यो । अझ आफूलाई सेती गाई भन्छे । सेती गाई भए तर तेरो जिउको रङ सेतो हुनु पथ्र्यो । तँ पक्कै पनि हाम्रो कुँडो चोर्न आएकी होस् । जा भागिहाल । नत्र मेरो तीखो सिंगले तेरो पेट फोरिदिन्छु ।”

अरू गाई पनि कराउन थाले, “यो बदमासलाई धपाऊ । यसलाई हाम्रो कुँडो खान नदेऊ ।”

तर सेती गाई भने आफ्नो कुरामा अडिएर बसेकी थिई । उसले भन्दै थिई, “म सेती गाई हुँ । मलाई कुँडो खान नदिने भए नदेऊ, तर मेरी बाच्छीलाई दूध ख्वाउन त देऊ ।”

“हुन्न । हुन्न । हाम्रा गोठका बाच्छाबाच्छीलाई यो बदमासको दूध खान दिनु हुँदैन । यसको दूध खायो भने हाम्रा सन्तान पनि यो जस्तै बदमास हुन्छन्,” गाईहरू ठूलो स्वरले चिच्याउँदै भने ।

उता सेती गाईकी बाच्छी भोकले आत्तिएर कराउँदै थिई, “आमा, आमा । भोक लाग्यो । चाँडै बुबु देऊ ।”

बाच्छी गोठको पल्लो छेउमा बाँधिएकी थिई । उसको नाकले आफ्नी आमा गोठमा आएको थाहा पाइसकेको थियो । यसैले ऊ दाम्लो चुँडालेर भए पनि आमाकहाँ जान खोज्दै थिई ।

सेती गाईकी बाच्छी कराएको र उफ्रेको देखेर अरू गाईहरू भन्दै थिए, “कस्तो बुद्धि नभएकी बाच्छी होली । जसको पायो त्यसको दूध खान खोज्छ ।”

एकातिर तिखे गोरु सेती गाईको बाटो छेकेर बसेको थियो, अर्कोतिर सेती गाईकी बाच्छी भोकले आत्तिएर आमाकहाँ जान उफ्रिँदै कराउँदै थिई ।

धेरै उफ्रेर चलेपछि बाच्छीको दाम्लो चुँड्यो । बाच्छी दगुर्दै आमातिर गई ।

“ए, यसलाई रोक । यसलाई त्यो बदमासको दूध खान नदेओ,” अरू गाई कराउन थाले ।

तर बाच्छीलाई कसैले रोक्न सकेन । ऊ तिखे गोरुको टांगमुनि छिरेर बाहिर निस्की । उसले आमाको गान्निएको दूधका लाम्टा मुखमा राखेर चुस्न थाली । सेती गाईले मायाले आफ्नी बाच्छीलाई चाट्न थाली । उसका आँखामा सन्तोष र खुशीका आँसु बग्न थाले । गोठका गाई गोरुहरू हेरेका हेर्यै भए ।

यसैबीच अचानक सिमसिम पानी पर्न थाल्यो । पानीबाट जोगिन सेती गाई गोठभित्र पस्न खोजी । तर तिखे गोरुले उसलाई पस्न दिएन । ऊ बाहिर पानीमा रुझ्दै बसी ।

आकाशबाट परेको पानीले सेती गाईको जिउमा लागेको रङ पखाल्न थाल्यो । रङ पखालिँदै गएपछि ऊ पहिलेकै जस्ती सेती गाई भई । त्यो देखेर गोठका सबै गाई गोरु छक्क परे । सेती गाईलाई दुव्र्यवहार गरेकोमा उनीहरूले माफी मागे ।

समाप्त

१ फेब्रुअरी २०१८, साँचल, सानेपा ।

नागरिक जुनकिरी पृष्ठमा १२ फागुन २०७४ मा प्रकाशित ।