(बालसाहित्य सर्जक चिडामान्डा अडिची)
— विनय कसजू
नाइजियाकी बालसाहित्य सर्जक चिमामान्डा अडिचीले चार वर्षको उमेरदेखि बालपुस्तक पढ्न थालेकी थिइन् । उनले सात वर्षको उमेरदेखि लेख्न पनि थालिन् ।
नाइजेरिया धेरै वर्षसम्म उपनिवेश बनेपछि मुक्त भएको देश हो । उनी सानो छँदा उनले बेलायती र अमेरिकन बालपुस्तक पढ्ने गर्थिन् ।
उनी भन्छिन्, “मैले कथा लेख्न थालेपछि मैले त्यस्तै कथा लेखेँ जुन कथा मैले म सानो छँदा पढेकी थिएँ । मेरा कथाका पात्रहरू सबै गोरा र निलो आँखा भएका हुन्थे । तिनीहरू हिउँमा खेल्थे, स्याऊ खान्थे र मौसमको बारेमा कुरा गर्थे । म नाइजेरिया बाहिर गएकी थिइन, तैपनि म यस्ता कुरा लेख्थेँ जबकि नाइजेरियाका मानिसको रंग कालो हुन्छ । उनीहरू स्याउ खाँदैनन्, आँप खान्छन् । यहाँ कहिल्यै हिउँ पर्दैन । यहाँका मानिसले मौसमको कुरा गर्नु जरुरत नै हुँदैन । मलाई जिन्जर बियर भनेको के हो थाहा थिएन तर मेरो कथाका पात्रले जिन्जर बियर पिउँथे ।”
बालबालिकामा उनीहरूले पढ्ने विषयवस्तुको कस्तो प्रभाव पर्छ र यसैको कारणले उनीहरू जोखिममा पर्नसक्छन् भन्ने कुरा चिमामान्डाको अनुभवबाट स्पष्ट हुन्छ । यस लेखकले २०७० पुसमा एउटा विद्यालयका विद्यार्थीहरूलाई कथा लेख्ने अभ्यास गराउँदा पनि यो कुराको अनुभव भयो । बालकथा लेखन कार्यशालाका लेखन अभ्यास गराउँदा २५ जना सहभागी मध्ये धेरै जसोले विदेशी नाम भएका र विदेशी परिवेशका कथा लेखे । उनीहरूले संभवतः नेपाली गाउँ, नेपाली पात्र र परिवेशका कथा पढेका थिएनन् । कथाको नायक सँधै गोरो छाला भएको हुनु पर्छ र उनीहरूको व्यवहार पनि त्यस्तै हुनु पर्छ भन्ने सोच उनीहरूको दिमागमा बलियोसँग जमेको हुनु पर्छ । यस्तो हुनुमा पुस्तक भन्दा पनि विदेशी (अंग्रेजी, भारतीय) फिल्म र टीभी सिरियलको प्रभाव धेरै देखिन्छ ।
“देशका केही नामी लेखकको अध्ययन गरेपछि मैले साहित्यबारे धारणा बदलेँ । म जस्ती चकलेट रंगकी, घुंग्रिएको केश भएकी केटी र मेरो वरिपरिको परिवेशको पनि कथा हुन सक्छ भन्ने मैले बुझेँ । निश्चय नै विदेशी बालसाहित्यले मेरो कल्पना क्षमतालाई बढाइदियो, नयाँ संसारलाई देखाइदियो, तैपनि यसको अवांछित परिणाम के भयो भने म जस्ता मानिसहरू साहित्यमा हुन सक्छन् भन्ने धारणा ममा जन्मायो,” चिमामान्डा भन्छिन् ।
गाउँमा बस्ने र खासगरी गरिब अवस्थामा बाँच्नेहरूको कथा पढ्दा पनि गरिबहरू मागेर खान्छन्, उनीहरूको केही सीप र क्षमता हुँदैन भन्ने जस्ता भ्रमपूर्ण धारणा बन्न सक्छ । नेपाली बालपुस्तकहरूलाई सर्सर्ती हेर्दा भाषा र सर्जकको कारणले नेपाली साहित्य नेपालको पहाडी भूभाग र राजधानीको पात्र र परिवेशमा सीमित छ । कतिपय बालकथाहरूमा मधेस र हिमालमा बस्ने जाति र हिन्दूइतर धर्मावलम्बीहरूको बारेमा अनादरयुक्त प्रसंगहरू भेटिन्छन् ।
नेपाल भौगोलिक, जैविक, मानवीय, सांस्कृतिक, भाषिक, धार्मिक आदि धेरै प्रकारका विविधतायुक्त देश हो । यो विषय आम साहित्यभन्दा पनि बालसाहित्यमा आउनु अत्यन्त जरुरी छ । एउटा समुदायले अर्को समुदायलाई बुझ्ने र सम्मान गर्ने कुरा बालबालिकालाई सानैदेखि सिकाउनु आवश्यक छ । एकपक्षीय बालसाहित्यबाट यो कुरा संभव छैन ।
यस्तै, नेपाली पुस्तक बजार विरानो देशमा लेखिएका बिरानो परिवेश, पात्र समस्यालाई लिएर लेखिएका बालपुस्तकहरूले भरिएका छन् । समग्र पुस्तक बजारमा नेपाली लेखकले नेपाली परिवेशमा लेखेका पुस्तकहरूको संख्या दश प्रतिशत पनि छैन (अनुमान) । नेपालभन्दा दश गुना सानो युरोपेली देश डेनमार्कमा प्रतिवर्ष औसत पन्ध्र सय शीर्षकका बालपुस्तक प्रकाशित हुन्छन् भने नेपाली बालसाहित्यको एकसय बीस वर्षको इतिहारमा तीहजार शीर्षकका बालपुस्तक भएका छैनन् । हाल आएर वर्षेनी दुई सय शीर्षकका पुस्तक छापिने गरेको अनुमान छ । फलस्वरूप नेपाली पुस्तक बजारमा विदेशी र बिरानो परिवेश र संस्कृतिका बालपुस्तकहरूको प्रभुत्व छ । बालबालिकाले स्वदेशका भन्दा विदेशका पुस्तक पढ्नु पर्ने वाध्यता छ ।
यसरी हेर्दा नेपाली बालपाठकहरू दुई प्रकारका जोखिममा छन् । एक विरानो परिवेश र पात्रका बारेमा लेखिएका विदेशी पुस्तकहरू र दुई बिरानो पात्र र परिवेशमा लेखिएका नेपाली बालपुस्तकहरू । विदेशी पुस्तकका विषयवस्तु, पात्र, परिवेश र घटना नेपाली बालबालिकाका लागि बिरानो त हुने नै भयो । नेपाली लेखकले लेखेका कतिपय बालपुस्तक पनि नेपालको विविध समुदायका बालपाठकका लागि बिराना छन् । ती पुस्तकले एक अर्काको विषयमा सदभाव फैलाउनुभन्दा भ्रम फैलाउने सम्भावना धेरै छ ।
विद्यालयहरूमा उपलब्ध बालपुस्तक विद्यार्थीहरूले रुचिपूर्वक पढ्छन् । तर उनीहरूले आफू र आफ्नो समुदाय, परिवेश र समाजका पात्रहरू भएको कथा पढ्न पाए भने उनीहरूको पुस्तक पढ्ने रुचि बढ्छ भन्ने कुरा अनुसन्धानहरूबाट स्पष्ट भएको छ । वयस्क वा प्रौढ लेखकहरूको तुलानामा किशोर तथा युवाहरूले आफ्नो समस्याबारे पढी जानेका हुन्छन् र समस्याहरूको समाधान पनि उनीहरूसँगै हुन्छ । यसैले अहिले आएर विद्यालयहरूमा बालबालिकालाई आफ्नो परिवेश र पात्रलाई राखेर कथा लेख्न प्रेरित गरिन्छ ।
बिरानो संस्कृति र परिवेशका बालपुस्तकले धेरै प्रकारका भ्रम फैलाउने हुनाले जोखिमयुक्त हुन्छन् । जस्तै अमेरिकी बालपुस्तकहरूमा एशिया र अफ्रिकाका मानिस र संस्कृतिबारे धेरै प्रकारका भ्रम फैलाउँछन् । केही वर्षअघि अमेरिका जाँदा भांजाकी छोरीको किताबमा देखेँ, “कुन विश्व गन्हाउँछ ? तेस्रो विश्व गन्हाउँछ (थर्ड वल्र्ड स्टिंक्स)” । अधिकांश अमेरिकी युवाहरू अमेरिकालाई नै संसार ठान्छन् । उनीहरूले पढ्ने बालपुस्तकहरूले त्यहीँका पाठकहरूलाई पनि अरू देशको बारेमा भ्रममा राखेका छन् । गलत कुरा सानैदेखि दिमागमा गड्यो भने त्यो कुरा हट्न गाह्रो हुन्छ । मानिसलाई एउटा वस्तुको रूपमा मात्रै देखाउँदा अनि बारंबार यसरी देखाउनु पूर्वाग्रह हो ।
युरोपेली देशहरूले एशिया र अफ्रिकामा उपनिवेश फैलाएर ब्रह्मलुट गरेको विषय पश्चिमी बालसाहित्यको विषय बन्दैन तर एशिया र अफ्रिकाका देशहरूको विपन्नता र समस्या उनीहरूको बालसाहित्यमा लेखिन्छ । किनकि कुनै समाज, देश र विश्वमा कस्तो शक्ति संरचना पावर स्ट्रक्चर) सक्रिय छ भन्ने कुराले बालसाहित्यलाई पनि प्रभावित पार्छ । जुन समुदाय वा वर्ग बढी शक्तिशाली छ, उसैको कथा, साहित्यले फैलिने अवसर पाउँछ । एकपक्षीय वा पूर्वाग्रही साहित्यले मानिसहरूको पहिचान र आत्मसम्मानलाई होच्याउँछ ।
विदेशी बालपुस्तकका विराना विषयवस्तु र स्वदेशी बालपुस्तकका एकपक्षीय विषयवस्तुबाट जोगिन नेपालमै स्तरीय तथा बहुसांस्कृतिक बालपुस्तकहरूको सिर्जना र उत्पादन गर्नु पर्छ । स्तरीय पुस्तकले मात्रै विदेश बालपुस्तकलाई विस्थापित गर्न सक्छ । बालपाठकलाई सही विषयवस्तु दिनका लागि नेपाली सर्जक, सम्पादक, प्रकाशक लगायत सरकार र सरोकारवाला सबैको प्रयास हुनु आवश्यक छ ।
(लेखन मितिः १२ जनवरी २०१४ )