अचेल अमेरिका र युरोपका पसलहरूमा सान्ता क्लजको रातो फुर्केटोपी लाएको हँसिलो अनुहारका मूर्तिहरू र उनका टोपी लाएका मानिसहरू जताजतै देखिन्छन् । केटाकेटीहरू आफूले मागेका कुरा सान्ता क्लजले उपहार दिन्छन् भनेर खुशी भएका छन् । इसाइहरूको महान चाड क्रिस्मसको दिनमा शान्ता क्लज सुटुक्क घरमा आउँछन् र आफ्नो मोजाभित्र उपहारका वस्तु राखेर जान्छन् भनेर केटाकेटीहरू उत्सुकतासाथ पर्खेर बसेका छन् ।

सान्ता क्लजको बारेमा धेरैजसो बालबालिकामा के विश्वास छ भने उनी उत्तरी ध्रुव प्रदेशमा बस्छन् । हिउँमा चल्ने पाँग्रा नभएको गाडामा बसेर उनी केटाकेटीको घरघरमा पुग्छन् । उनको गाडा ध्रुव प्रदेशमा पाइने बाह्रसिंगे मृगहरूले तान्छन् । गाडाभरि उपहारहरू राखेर उनी रातभरिमा सबैको घरमा पुग्छन् । केटाकेटीहरूले पनि हरेक क्रिसमस (24 डिसेम्बर) मा मनले चिताएको उपहार पाउने भएको हुनाले उनीहरूले सान्ता क्लजले नै उनीहरूलार्इ उपहार दिन्छन् भन्ने कुरा विश्वास गर्छन् ।

तर के यो कुरा सम्भव छ ? उनी बस्ने ध्रुव प्रदेशमा केटाकेटीलार्इ दिने उपहारका सामान बनाउने कुनै कारखाना छैन । सामान बनाउने मानिसहरू पनि छैनन् । बाह्रसिंगेहरूले तान्ने हिउँमा चल्ने पाँग्राबिनाको गाडामा बसेर देश र महादेशका कुना काप्चामा पुग्नु सम्भव पनि छैन । तैपनि केटाकेटीहरूले उपहार पाइरहेकै छन् । उनीहरू कहिले क्रिसमस आउला र सान्ताले उपहार ल्याउला भनेर पर्खिरहेका छन् ।

झन्डै सत्र सय वर्षअघि धनी बाबुआमाका एक जना एक्ला छोरा थिए । उनलार्इ बाबुआमाले थुप्रै सम्पत्ति छाडेका थिए । उनी दयालु स्वभावका थिए । उनले केटाकेटीलार्इ उपहार दिन रमाइलो मान्थे । पछि उनी चर्चमा बिसप (पुजारी) भए । उनको नाम सेन्ट (सन्त) निकोलस थियो । ती नै पछि सान्ता क्लजको नामले प्रसिध्द भए ।

अहिलेका केटाकेटीहरू उहिलेका भन्दा धेरै चलाख भएका छन् । उनीहरू सान्ता क्लज साँच्चैका हुन् कि भनेर आमाबाबुसँग सोध्न थालेका छन् । सान्ता क्लज वास्तविक होइन भनेर कसरी भन्ने ? अन्धविश्वास कसरी चिर्ने ? तर संसारमा कुनै स्वार्थ नराखी अरूको कल्याण गर्ने, परोपकारको भावना भएका मानिसहरूको कमी छैन । स्वार्थरहित परोपकारी मानिसहरू नै सान्ता हुन् भनेर सम्झाउन सक्यौँ भने संसारमा सद्भाव फैलाउन सहयोग हुन्छ ।