(नानीबाबुसँग विनय कसजुका मनका कुरा)

हाम्रो मूल घर रिडीमा हो । हाम्रा बुवाका चार दाजुभाइमध्ये दुईजना रिडीमा र दुर्इ जना पाल्पामा व्यापार गर्नुहुन्थ्यो । रिडीबाट भगवतीको जात्रा हेर्न आमा पाल्पा आएका बेला कृष्णाष्टमीका दिन मेरो जन्म भएको हो । आमा धर्मकर्ममा विशेष चाख राख्नुन्थ्यो । यसको प्रभाव ममा पनि सानैदेखि परेको थियो । उहाँ हिन्दीका पुराना कवि कबीरको दोहा,  हनुमान चालिसा, तुलसीकृत रामायणका श्लोक वाचन गरिरहनुहुन्थ्यो । म दिनहुँ कालीगण्डकीमा नुहाउने, मन्दिर जाने, व्रत बस्ने र धार्मिक किताब पढ्ने गर्थें ।

रिडीमा जोगीहरूसँग मेरो संगत भयो । त्यस बेला मूक्तिनाथ जाने आउने जोगीहरू रिडीमा बास बस्ने र धार्मिक गतिविधि गर्ने गर्थे । त्यसको प्रभावले गर्दा धार्मिक कथाहरू पढ्न थालेपछि परोपकार र सेवामा चासो लाग्न थाल्यो । विस्तारै परोपकार नै धर्म हो भन्ने कुरा पनि बुझेँ । त्यस बेलादेखि नै पुराण उपनिषद् जस्ता ठूला ग्रन्थ पढ्न औधी मन लाग्न थाल्यो मलाई ।

हामी केटाकेटी हुँदा दलाई लामा तिब्बतबाट भागेका थिए । उनका समर्थकहरू भने मुस्ताङबाट रिडी हुँदै भारत पसेका थिए । उनीहरूका साथमा गोली लागेका घोडाहरू पनि थिए । बुवाले पनि उनीहरूसँग एउटा घोडा किन्नु भएको थियो । म काठमाडौं नगएसम्म उक्त घोडा मेरो साथीजस्तै भयो ।

एकपटक जन्ती जाँदा सोही घोडा लिएर गएको थिएँ । धेरैले घोडा चढ्न मागे तर मैले दिइनँ । म जन्तीमा सबैभन्दा पछाडि थिएँ । बडिघाट खोलाको पुलमा अगाडिका घोडाहरू जान मानेनन् । सबैजना अलमलमा थिए । त्यसपछि मैले मेरो घोडा लिएर पुलबाट सजिलै तरेँ । त्यसको पछिपछि अरू घोडा पनि सरासर आए । यो घटनाले म निकै खुसी भएँ ।

केटाकेटी हुँदा चकचक गरेको, उपद्रो गरेको अनुभव मसँग खासै छैन । एकपटक दसैंको समयमा बोका चराउन लैजाँदा बोकाले हानेको दाग अझै छ । चंगा उडाउँदा धागोले काटेको पनि सम्झना आइरहन्छ ।

मेरो माध्यमिक तहको पढाइ काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्श मा.वि.मा भयो । त्यहाँ कवि धरणीधर कोइराला प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँ र नेपाली शिक्षक फणिन्द्रराज खेतालाको संगतले मैले पनि साहित्यमा रुचि राख्न थालेँ । खेताला नाइट ड्युटीका क्रममा आउँदा राति ओछ्यानमै मेरो लेखन हेरेर प्रोत्साहनसमेत दिनुहुन्थ्यो ।

एसएलसी दिएर रिडी फर्किएपछि अवैतनिक शिक्षकका रूपमा काम गरेँ । त्यसपिछ म धार्मिक आकर्षणले गर्दा वनारसमा पढ्न गएँ । त्यहाँ जोगीहरूको संगत भयो । त्यहाँ मैले धर्मको नाममा आडमा अनेक विकृतिहरू देखेँ । ती कुराहरू देखेपछि एकाएक वितृष्णा पैदा भयो ।

त्यसपछि मैले कमलापति त्रिपाठीको ‘पत्र और पत्रकारिता’ भन्ने किताब पढ्ने मौका पाएँ । त्रिपाठी पछि उत्तर प्रदेशका मुख्यमन्त्री र केन्द्रीय सरकारका रेलमन्त्रीसमेत भए । उक्त किताबले मलाई ठूलो प्रभाव पार्‍यो । म एकाएक पत्रकारितामा आकर्षित भएँ । त्यसपछि राहुल सांकृत्यायनको किताब ‘साम्यवाद ही क्योँ’ पढेपछि कम्युनिस्ट विचारप्रति आकर्षित भएँ । यी दुईवटा किताबले मलाई यु टर्न गराए ।

वनारसमा आईएको जाँच दिने तयारी गर्दागर्दै २०२४ सालमा बुवा बित्नु भयो । जाँच् छाडेर म रिडी फर्केँ । त्यसपिछ पढाउन थालेँ । त्यस बेला म २० वर्षको मात्रै थिएँ । म नागरिकशास्त्रबाहेक सबै विषय पढाउँथे । त्यति बेलै एउटा मुद्दाको विषयलाई लिएर प्रधानपञ्चले राजीनामा दिएका थिए । बाँकी एक वर्षको कार्यकालका लागि सर्वसहमतिबाट मलाई प्रधानपञ्च बनाइयो ।

क्षयरोगबाट थलिएका जेठा दाइ पाल्पामा हुनुहुन्थ्यो । त्यहाँ साने पसल थियो । उहाँके अचानक निधन भएपछि म पाल्पामा बसेर दाजुको व्यापार सम्हाल्न थालेँ । त्यसपछि निरन्तर २६ वर्षसम्म पाल्पामै बसेर पत्रकारिता र साहित्यिक गतिविधिमा सहभागी भएँ । गुल्मी,  अर्घाखाँची,  पाल्पा र स्याङ्जाका साहित्यकारका किताब पनि आफ्नै छापाखानामा छाप्ने अवसर प्राप्त भयो । २०२८ सालदेखि निस्कन थालेको श्रीनगर पत्रिका निकै चर्चित थियो । पछि देउराली पत्रिका पनि प्रख्यात भयो ।

भाइबहिनीले मुख्य कुरा पढ्नमा ध्यान दिनुपर्छ । हरेक विषयमा चासो लिनुपर्छ । कोर्सका किताब पढेर मात्र हुँदैन । पढ्ने बानी विद्यार्थी कालमै लगाउनुपर्छ । मैले पनि एसएलसी दिनुभन्दा अगाडि नै शरदचन्द्र चक्रवर्ती,  प्रेम चन्द,  रवीन्द्रनाथ टेगोरका किताब पढ्ने मौका पाएको थिएँ । विद्यालयमा रहेको लाइब्रेरीले मेरो पढ्ने लतलाई सघाएको थियो । मैले तत्कालीन शिक्षामन्त्री कीर्तिनिधि विष्टको हातबाट बेस्ट ब्वायको पुरस्कार पाएर पनि पाएको थिएँ ।

अहिले पढ्न सजिलो भएको छ । किताब किन्न पसल चहारिराख्नु पर्दैन । पढ्ने माध्यम फेरिएको छ । डिजिटल माध्यमबाट पढ्न सजिलो भएको छ । त्यसकारण भाइबहिनीले सामाजिक सञ्जालमा भुलेर बस्ने, गेम खेलेर समय बर्बाद गर्नुको सट्टा डिजिटल किताब पढ्न, वेब साइटको प्रयोग गर्नु राम्रो हुन्छ । नेपालीमा पनि साझा शिक्षा इपाटीले झन्डै तीन हजार किताब वेबसाइटमा राखेको छ ।

हिजोआज बजारमा जति काम आएका छन्, ती १० वर्षअघि कल्पना पनि गरिएका थिएनन् । अबको १० वर्षपछि पनि आजको काम पुरानो हुन्छ । त्यसैले विषयवस्तु मात्रै सिक्नेभन्दा पनि नयाँ प्रविधि कसरी सिक्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामीले नयाँनयाँ काम गर्न खोज्नुपर्छ । हिजोआज रोबोटले धेरै प्रकारका काम गर्दै छ । अब रोबोटले पनि गर्न नसक्ने काम के हुन सक्छ भनेर सोच्ने बेला आएको छ । मानिस सिर्जनशील भएन भने रोबोटले हाम्रो काम खोस्ने छ । सिर्जनशील बन्नका लागि पढ्ने र लेख्ने बानी बसाल्नु अत्यन्त जरूरी छ ।

(बालसाहित्यकार विनय कसजूसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)

 

 

विनय कसजू

साभारः अन्नपूर्ण पोस्ट दैनिक, अंकुर १० असार २०७५ ०९:३४:००

http://annapurnapost.com/news/101282