(झुल्का बालमैत्री पत्रिका चैत/बैशाख २०७४/२०७५ मा प्रकाशित)

१. तपाईँ यतिलामो समयदेखि बाल–साहित्य र यसलाई विद्युतीय माध्यममा लैजाने विधिको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । यस क्षेत्रको अनुभव तपाईँ यस क्षेत्रमा लाग्न कसरी प्रेरित हुनुभयो ?

उत्तरः सानैदेखि कथा सुन्ने र पढ्ने चाहना र बानीले गर्दा आफैले कथा लेख्ने इच्छा जाग्यो । भारतमा गएको बेलामा हिन्दी भाषाका बालपत्रिका पढेपछि त्यसैको नक्कल गर्दै लेख्न पनि थालेँ ।

२०५० साल पछि पाल्पामा अफसेट प्रेस राखेर गाउँले देउराली साप्ताहिक पत्रिका प्रकाशन गर्न थालेपछि कम्प्युटरको तालिम लिएँ । यसपछि डिजिटल प्रविधिको शक्ति विस्तारै बुझ्दै गएँ ।

२०५२ सालमा अमेरिका गएको बेलामा डफिन कम्पनीको एउटा सानो हाते कम्प्युटर किनेर ल्याएको थिएँ । (त्यो कम्प्युटरले कसरी काम गर्छ भन्ने भिडियो मेरो युट्युबमा हेर्न सकिन्छः https://www.youtube.com/watch?v=mkkO_wK-0xs) त्यस बेला ल्यापटप आइसकेको थिएन । त्यो कम्प्युटरबाट इमेल चलाउने गर्थेँ ।

२०५७ सालतिर www.thopathopa.com वेब साइट बनाएर आफ्ना लघुकथाहरु वेबसाइटमा राखेँ । त्यसपछि www.balsansar.org बनाएँ जसमा मैले बालसाहित्यका आफ्ना गतिविधि र केही पुस्तक र रचनाहरु पनि राखेको छु ।

डिजिटल प्रविधिबारे प्रयोग र अध्ययन गर्दै गएँ । यस विषयमा २०६० सालमा ‘सूचना प्रविधिको शक्ति र नेपालमा यसको उपयोग’ शीर्षक पुस्तक पनि लेखेर प्रकाशित गरेँ ।

२. तपाईँको विचारमा बाल–साहित्य के हो र यो कस्तो हुनुपर्छ ?

बालसाहित्य बालबालिकाको लागि लेखिएको साहित्य हो । बालबालिकाको व्यक्तित्व विकास गर्ने, उनीहरुलाई सक्षम र असल नागरिक बनाउने उद्देश्यले बालसाहित्य लेखिन्छ । यसको लक्षित पाठक शिशुदेखि किशोरावस्थासम्म विभिन्न उमेर

का बालबालिका हुने हुनाले बालसाहित्य लेखनको प्रस्तुतिको पक्षमा सर्वप्रथम उमेरको विचार गरिन्छ अनि उमेरअनुसारको भाषा, शैली तथा साहित्यका उपकरणहरुको प्रयोग गरिन्छ । बालबालिकालाई पढ्न आकर्षित गर्नका लागि मनोरंजनको

माध्यम प्रयोग गरिन्छ तर मूल उद्देश्य ज्ञान दिएर परिवर्तन गराउनु हुन्छ ।

३. यो यात्रामा के–कस्तो दुःख र खुसीहरू भए, हामीलाई बताइदिनुहुन्छ कि?

नेपालमा बालसाहित्य बेवारिसे बालक झैँ हुर्किरहेको छ । सरकारले बालबालिकाको विकासको लागि विभिन्न कार्यक्रम, रणनीति र नीति बनाएको छ तर बालबालिकाको जीवनमा गहन प्रभाव पार्ने बालसाहित्यको विषयमा कुनै नीति, कार्यक्रम, योजना छैन । हाम्रो समाज र देशको भविष्य निर्माण गर्ने हो भने बालसाहित्यमा लगानी गर्नैपर्छ । यो कुरा नीति निर्माताहरुलाई बुझाउन नसक्नु हाम्रो पनि कमजोरी हो ।

४. अन्तर्राष्ट्रिय स्तरमा नेपाली बालसाहित्यको अवस्था कस्तो छ ?

नेपाली बालसाहित्यमा विदेशी बालसाहित्यबाट अनुवाद गरिएका पुस्तकहरु छन् । तर ती सबैजसो पुराना, बितिसकेका लेखकहरुका छन् । आधुनिक अन्तर्राष्ट्रिय ख्याति प्राप्त बालसाहित्य कृतिको नेपालीमा अनुवाद हुन सकेको छैन । नेपाली बालसाहित्यका कृतिहरु अन्तरराष्ट्रिय स्तरमा पुगेको अवस्था छैन । सबैभन्दा धेरै भाषामा अनुवाद भएको बालसाहित्यको कृति ‘धुमधामको घुमघाम’ हो । २० वर्षअघि कनकमणि दीक्षितले लेख्नुभएको यो बालउपन्यासको चिनिया लगायत झन्डै बिस भाषामा अनुवाद भइसकेको छ ।

 

५. तपाइँको बिचारमा झुल्का जस्तो पत्रिकाबाट के–कस्तो सामग्री दिनुपर्ला ?

नेपालले अहिले संघीय शासन व्यवस्थाको अभ्यास गर्दैछ । नेपालजस्तो मानव विविधता भएको देशको स्थायित्व र विकासका लागि सबै क्षेत्र, भाषा, जात, धर्म, संस्कृतिलाई बुझ्नु र सम्मान गर्नु आवश्यक छ । यो काम बालसाहित्यले सबैभन्दा दीर्घकालीन प्रभाव पार्ने गरी गर्न सक्छ । यसैले झुल्का बालपत्रिकाले बालबालिकालाई ने

पाल चिनाउने र सम्मान गर्ने संस्कार विकास गर्ने सामग्री दिनु आवश्यक छ ।

६. झुल्का पढ्ने साना–साना बालबालिकाका लागि तपाईँको केही सन्देश छ कि ?

बालबालिकाको व्यक्तित्व निर्माणका लागि सानैदेखि पढ्ने बानी बसाल्नु अति जरुरी छ । यो बानीले विद्यालयको पढाइमा उत्कृष्टता हासिल गर्न मदत गर्छ नै, साथै पुस्तक पढ्ने बालबालिकाहरु चिन्तनशील, विचारवान र कल्पनाशील हुन्छन् । कल्पनाशीलताले उनीहरुलाई वैज्ञानिक बनाउँछ । असल पुस्तक पढ्ने बालबालिकाले कहिल्यै नराम्रो काम वा अपराध गर्दैनन् । यसैले झुल्काका पाठकहरुलाई पढ्ने बानी बढाउन र सकेसम्म नयाँनयाँ पुस्तक पढ्न आग्रह गर्छु ।

धन्यवाद ।